
नौ दिनपछि स्वदेश फर्किए सेनापति शर्मा
काठमाडौं – अष्ट्रेलियामा आयोजना भएको सेना प्रमुखहरुको सम्मेलनमा सहभागी भई प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फिर्ता भएका छन् । यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियाको सिडनीमा आयोजित ‘बार्षिक चीफ्स अफ डिफेन्स’ (सिएचओडी) सम्मेलन–२०२२ मा सहभागी रहेका सेनापति शर्मा शुक्रबार स्वदेश फर्किएका हुन् ।
सम्मेलनका क्रममा सेनापति शर्माले अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा भएको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनापति शर्मा प्रधानमन्त्री तथा रक्षामन्त्रिस्तर निर्णय अनुसार घर विदा स्वीकृति गरी नौ दिन अष्ट्रेलियामा रहेका थिए।
सेनापति शर्मालाई नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको नेपाली सेनाले जनाएको छ । स्वदेश फिता भएका प्रधानसेनापति शर्मालाई शनिवार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सम्मान गारतसमेत अर्पण गरिएको छ ।
अष्ट्रलियामा भएको सैनिक प्रमुखहरुको सम्मेलन तथा छलफल र अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना तथा नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध थप प्रगाड भई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास सेनाले लिएको जनाएको छ ।



कागजपत्र |
