
भारत सरकारको अनुदानमा बन्यो त्रिभुवन त्रिसुली माबिको अत्याधुनिक भवन
काठमाडौं – नुवाकोट जिल्लाको सदरमुकाम बिदुरस्थित त्रिभुवन त्रिसुली माध्यमिक विद्यालयको अत्याधुनिक भवनको मंगलबार उद्घाटन भएको छ ।
नेपालस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीले भारत सरकारको अनुदान सहयोगमा निर्मित सो विद्यालय भवनको मंगलबार संयुक्त रुपमा उद्घाटन गगरेका हुन् ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाख रुपैयाँको लागतमा सामुदायिक विकास परियोजना अन्तरगत सो भवनको निर्माण भएको भारतीय दूतावसले जनाएको छ ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया एट द रेट सेभेन्टी फाईभ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको यो एक हो ।
सन् १९५१ मा स्थापना भएको सो विद्यालय भवनको त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर केआई सिंहले डिजाइन गरेका थिए । विद्यालयमा एक हजार तीन सय ४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ६० प्रतिशत छात्रा रहेको बताइएको छ ।
सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा चार सय ७० वटा परियोजना सम्पन्न भइसकेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उद्घाटन पश्चात जिल्ला समन्वय समितिले सो भवन विदुर नगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।



कागजपत्र |
