यी हुन् चाबहिलमा डकैती गर्ने आपराधिक ग्याङ


काठमाडौं- काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गर्नेहरूलाई नेपाल प्रहरीले सार्वजनिक गरेको छ।  चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन।  सोही समयमा तीन जना सटरभित्र प्रवेश गरी डकैती गर्नेहरूलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो। उक्त ग्याङमा भने पाँच जना रहेको खुलेको छ।

लिम्बुलाई कपडाले हातखुट्टा बाँधेर र मुखमा टेप बाँधी कुटपिट गरी सुनको सिक्री, कुण्डल, फुली, औंठी र नगदलगायतका धनमाल डकैती गरेका पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि प्रहरी वृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी टोली परिचालन भई अनुसन्धान सुरु भएको थियो ।

पक्राउ पर्नेमा मकवानपुर छतिवन ४ घर भई चाबहिल सरस्वतीनगर बस्ने २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर ६ जोरपाटी बस्ने २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कविरजंग कुँवर, सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षीय कल्याणकुमार सुवेदी र सिन्धुपाल्चोक तौथली घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ छन् । श्रेष्ठले उक्त गिरोहबाट सुनको सिक्री किनेको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो ग्याङले अन्य क्षेत्रमा पनि डकैती गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान तीव्र बनाएको बताएको छ। उनीहरूमाथि प्रहरीले डकैती तथा ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया