

नवलपुरमा थपिए १ हजार बढी नयाँ उद्योग, कृषि तथा वन पैदावारमा आधारित धेरै

नवलपुर – नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा १ वर्षमा १ हजार नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५० वटा नयाँ उद्योग थपिएका छन् ।
गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये ८ वटा लघु उद्योग, ४ वटा घरेलु उद्योग र १ हजार ३८ वटा साना उद्योग रहेका कार्यालय प्रमुख खनालले बताए । जिल्लामा थपिएका उद्योगमध्ये धेरैजसो कृषि तथा वन पैदावारमा आधारित रहेका उनले बताए । यसबाहेक सेवामूलक र पर्यटनसम्बन्धी उद्योग नवलपुरमा थपिनेक्रम धेरै रहेको कार्यालय प्रमुख खनालले बताए ।
‘नवलपुरमा उद्योग थपिनेक्रम तीव्र छ, कोभिडको अवस्थामा केही कम उद्योग दर्ता भएको भए पनि अहिले फेरि नयाँ उद्योग थपिनेक्रम धेरै रहेको छ,’ कार्यालय प्रमुख खनालले भने, ‘थपिएकामध्ये कृषि, वन पैदावार, सेवामूलक र पर्यटनसँग सम्बन्धित धेरै रहेका छन् ।’
गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये कृषि तथा वन पैदावारमा आधारित उद्योग मात्रै ६३८ छन् । यसबाहेक सेवामूलक उद्योगमा २६५, उत्पादन मूलक उद्योग ८२, पर्यटन उद्योग ६४ र ऊर्जामूलक उद्योग १ थपिएका छन् ।
कार्यालय प्रमुख खनालले भने, ‘कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र, नारायणी तटीय क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटनको सम्भावना भएकाले पनि यस प्रकृतिका उद्योग धेरै खुल्ने गरेका छन् । यति मात्रै होइन राज्यले कृषि तथा पशुपालनमा दिने अनुदानले युवाको आकर्षण समेत यस्तो भएको हुन सक्छ ।’
पूर्वपश्चिम राजमार्गको मध्यमार्ग, भारतीय सीमाबाट नजिक भएकाले पछिल्लो समय उत्पादनमूलक उद्योग समेत नवलपुरमा आकर्षित हुन थालेका छन् । देशकै मध्यभागमा रहेको जिल्ला भएकाले यहाँबाट उत्पादन गरिएका सामग्री सहजै अन्य ठाउँमा लैजान सकिने हुँदा समेत नवलपुरमा उत्पादनमूलक उद्योगको आकर्षण बढ्दो रहेको छ ।

