
लहान उपमेयरमाथि करणीको अभियोगमा उजुरी, उपमेयर महतो सम्पर्कबिहीन
काठमाडौं – लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने बताए ।
उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख छ । ‘सुरुमा कार्यालय बाहिर कुराकानी भयो, त्यसपछि आफ्नो कार्यकक्षको गोप्य कोठामा लगेर जबरजस्ती करणीको उद्योग गरेको आरोप छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका अधिकृतले भने ।
कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ । घटना जेठ महिनाको भएको जनाइएको छ ।
आरोपीलाई पक्राउ गर्नुअघि अदालतबाट पक्राउ पूर्जी लिनुपर्ने भएकाले प्रहरीले निवेदन दिएको थियो । ‘बिहीबार अपराह्न चार बजेसम्म पनि पक्राउका लागि अनुमति आएको थिएन, आज फलो गर्छौं,’ सिरहाका एकजना प्रहरी अधिकृतले भने ।
जनता समाजवादी पार्टीबाट गत स्थानीय तह निर्वाचनमा लहान नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।
प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन छन् । उनको मोबाइल फोन पनि स्विच्ड अफ छ ।



कागजपत्र |
