सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान
काठमाडाैं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमवार आयोजित समारोहबीच मन्त्रीस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालको साधारण समूह, लेखा उपसमूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उपसमूहको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायम मुकरर भएका होम ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
समारोहमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायम मुकरर भएका ज्ञवालीलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरूमा तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालयसँग समन्वयका साथ अगाडि बढिरहेको बताए ।
उनले सशस्त्र प्रहरी अधिकृत जवानहरूले उत्कृष्ट कार्यसम्पादनका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा आ-आफ्नो ठाउँबाट पुर्याएको योगदानले सांगठनिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरीहरूले फौजी अनुशासनमा रहँदै दर्जा अनुरूप प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आर्थिक अनुशासनको पूर्ण पालना गर्दै कार्यसम्पादनमा जुट्नुपर्नेमा जोड दिँदै सशस्त्र प्रहरी बल नेपालका कुनै पनि ईकाइ तथा कर्मचारीबाट आर्थिक पक्षमा समस्या तथा गुनासोहरू नआउने गरी पूर्ण व्यावसायिक भई सेवा प्रवाहमा लाग्न अधिकृतलाई निर्देशन दिए ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।