‘मन्त्री हेरफेरका कारण विधेयकमाथिको छलफल प्रभावित भयाे’


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल अगाडि बढाउन समस्या भएको बताएका छन् ।

संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उनले संसद्को चालु अधिवेशन बजेट अधिवेशन भए पनि महत्वपूर्ण विधेयक पारित भएको र केही विधेयक छलफलकै क्रममा रहेको बताए।

‘चालु अधिवेशनबाट १५ विधेयक पारित भएको छ, पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएका छन्,’ उनले भने, ‘विघटन र अवरुद्धका बीच चलेको संसद्ले जनतालाई आशा जगाउने काम गरेको छ।’

विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले समितिका सभापतिको निर्वाचन गर्न प्रधानमन्त्रीसँग आफूले संवाद गरिरहेको बताए । ढिलै भएपनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने उनको विश्वास छ।

प्रतिक्रिया