सर्वोच्चका न्यायाधीशले प्रधानमन्त्रीसँग भेट भन्ने समाचार भ्रामक : सर्वोच्च अदालत


काठमाडौँ – सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै खेद व्यक्त गरेको छ ।

केही अनलाइनले शुक्रबार प्रधानमन्त्रीसँग सर्वोच्च अदालतका चार न्यायाधीशले भेट गरेको भन्ने भावको समाचार प्रस्तुत गरेको विषयलाई लिएर अदालतले सोको खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो । समाचारमा प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का र दीपक कार्कीले विभिन्न समयमा प्रधानमन्त्रीसँग गोप्य रूपमा भेटेको उल्लेख थियो।

अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले शुक्रबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशङ्का र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र नागरिकको यसप्रतिको आस्थामा खलल पुग्ने जाने तथा सम्पूर्ण प्रेसप्रतिको विश्वसनीयतामा आँच आउन सक्ने औँल्याइएको छ ।

त्यस्ता सामग्रीबाट पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने हुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया