
कस्तुरीको बिनासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले नै फसाएको आरोप लागेपछि…
काठमाडौं – कस्तुरीको बिनासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले नै फसाएको आरोप लागेपछि छानबिन समिति गठन भएको छ। गत बिहीबार चाबाहिलको सडक खण्डबाट पाँचथर तुम्बेवा गाउँपालिका-५का घर भई कपन बस्ने शिव लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो। उनको बा ८२ प ५७९ नम्बरको रोयल इन्फिल्ड बाइकबाट कस्तुरीको बिना पनि बरामद गरेको प्रहरीले जानकारी दिएको थियो।
उनलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको थियो। पक्राउ परेका लिम्बुका परिवारले प्रहरी र अभियुक्तकै मिलेमतोमा लिम्बुलाई फसाएको आरोप लगाएका छन्। यस घटनाको सिसिटिभी फुटेज पनि बाहिर आएको छ। उक्त फुटेजमा मोटरसाइकलमा एक व्यक्तिले लिम्बुको मोटरसाइकलमा रातो झोला राखेको देखिन्छ। त्यस्तै झोला राखेर उनी अगाडिको रेष्टुरेन्टमा पसेको पनि देखिएको छ।
केहीबेरपछि सादा पोशाकमा आएका प्रहरीले लिम्बु पसेको होटलमा पसेको देखिन्छ। त्यस्तै प्रहरी मध्येकै एक जनाले मोटरसाइकलमा झोला राख्ने व्यक्तिलाई बोलाएको पनि सिसिटिभी फुटेजमा देखिन्छ। जसले गर्दा यस घटनामा प्रहरीकै संलग्नता छ कि भन्ने देखिएको छ।
यसबारेमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी पाएपछि समिति गठन गर्न निर्देशन दिएका थिए।त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
कार्यालयका प्रहरी उपरीक्षक दीलिप घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायक उपरीक्षक कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला पनि छन्। समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।
‘यस घटनामा कैफियत देखियो भनेर सञ्चारमाध्यममा आयो,’ राठौरले भने, ‘त्यसपछि छानबिन गर्न लागिएको हो। तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।’



कागजपत्र |
