
कोरियाको आम्दानी-कुखुरा पालनमा लगानी
गलकोट – सोच बनाएका बागलुङ नगरपालिका-४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देखेका उनी आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया गए । इपिएस भाषा अध्ययन गरेर कोरिया गएका जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आएका छन् ।
उनले छ वर्ष कोरिया बसाइँ टुंग्याएर नेपाल आएपछि ब्रोइलर कुखुरा पालन गर्दै आएका हुन् । जिसीले चार वर्षदेखि व्यावसायिक रुपले कुखुरा पालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आएका छन् । ‘व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो’ उनले भने, ‘दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु ।’
जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् । उनले कोरियाबाट आउदा कमाएको रकममध्ये १० लाखको लागतमा फर्म स्थापना गरेका छन् । सुरुमा एक पटक कुखुरा हाल्दा एक लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेकामा अहिले दानाको मूल्य आकाशिएका कारण समस्या भएको र पहिलाजस्तो नाफा नभए पनि सन्तोषै लागेको जिसीले बताए । कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उनले भने ।
‘सुरुआतमा राम्रै कमाइ भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक/डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन’ जिसीले भने, ‘अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ ।’
उनले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आएका छन् । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्छ भन्दै उनले विदेशको कमाइ यही सदुपयोग गर्न पनि सुझाव दिए ।
कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी पनि गर्न सकिन्छ । कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको भनाइ थियो । उनले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि दानाको मूल्य अनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको बताए । अहिले बजारमा कुखुराको मासुको मूल्य प्रति केजी ४६० रहेको छ



कागजपत्र |
