शनिबार हराएकी युवतीको शव तिनाउ नदीमा भेटियो


काठमाडौँ- रुपन्देहीको तिलोत्तमामा एक युवती मृत अवस्थामा फेला गरेकी छन् । तिलोत्तमा ३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

शनिबार दिउँसो करिब १२ बजेदेखि हराएकी भनिएकी अस्मिता तिनाउ नदीको बीच भागमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइत भएकी अस्मिताको गत वैशाख २६ गते विवाह भएको थियो। गुल्मीको गुल्मी दरबार गाउँपालिका ४  घर भई हाल तिलोत्तमा ३ शंकरनगरमा सासुसँग घर भाडामा बस्दै आएकी थिइन्। उनका श्रीमान अनिल चुँदाली शर्मा रोजगारका लागि भारतमा रहेका छन् ।

अस्मिताको परिवारले शनिबार दिउँसो करिब ३ बजेको समयमा छोरी हराएको खबर आफूहरुलाई सुनाएको अस्मिताका बुवा नागेन्द्र पटहरालले बताए । हराएको खबर पाएलगत्तै खोजीकार्यमा लागेका उनीहरुलाई अस्मिताको घरबाट नै आइतबार फोन गरी छोरी मृत भेटिएको जानकारी गराएका थिए ।

खबर पाएसँगै घटना स्थल तिलोत्तमा ६ पश्चिम पहुनीस्थित तिनाउ नदीमा पुग्दा छोरीको शवलाई उठाएर पोस्टमार्टमका लागि अस्पताल लगिएको पाइएपछि घटना शंकास्पद भएको माइती पक्षको आरोप छ ।

प्रतिक्रिया