यातायात क्षेत्रको सुधारका लागि गृहको परिपत्र


काठमाडाैं – गृह मन्त्रालयले ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित प्रदेश मन्त्रालयसहित निकायहरूलाई परिपत्र गरेको छ। सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न सम्बन्धित मन्त्रालयहरू तथा निकायलाई मन्त्रालयले परिपत्र गरेको हो।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सडक पूर्वाधारहरूको अवस्था सुधार्न, सवारी साधनको आवश्यक मर्मत सम्भार गर्न, जथाभावी सवारी साधनमा लेखन गर्दै स्वरुप बिगार्ने कार्यलाई नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए।

त्यस्तै, सवारी साधनमा काम गर्ने जनशक्ति तथा यात्रुहरूमा सचेतना बढाउन, पर्याप्त ट्राफिक पूर्वाधारहरुको अभावबाट हुने समस्यालाई न्यूनिकरण सम्वन्धित मन्त्रालय र निकायलाई परिपत्र पठाइएको छ।

गृहले सफा, सुरक्षित सभ्य यातायात क्षेत्र निर्माण सम्बन्धमा भन्ने विषय राखेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ।

गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहहरूमा परिपत्र गर्न र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात वटै प्रदेशहरूमा परिपत्र गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया