मार्सी धानकाे बीमा गर्दै जुम्लामा किसान


जुम्ला – जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् ।

पातारासी गाउँपालिका ३ का किसान कृष्णबहादुर महताराले दुई हजार सात सय २५ वर्गमिटर जग्गामा मार्सी धान राेप्नुभएकाे छ । दुई हप्ताअघि मात्रै प्रिमियमबापत तीन सय ३५ रुपैयाँ तिरेर उनले धानखेतको बीमा गरेका छन् । अब त्याे मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बीमाबापत २६ हजार पाँच सय रुपैयाँ उनले प्राप्त गर्नेछन् ।

त्यही वडाका पदमबहादुर महताराले पनि ३ दशमलव ८४ रोपनी जग्गामा लगाएको मार्सीधानको बीमा गरेका छन् । दुई सय ६० रुपैयाँ प्रिमियम रकम तिरेर बीमा गरेका किसानले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुने गर्छ ।

केही वर्षयता देशभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो । मार्सी धानमा रोग, किराको सङ्क्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमासमेत कमी आउन थालेको किसान बताउँछन् । बीमा सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपदर्शन फडेराले जानकारी दिए ।

कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बीमा गरेका छन् । छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ । दुई हजार आठ सय ५० मिटर उचाइमा फल्ने याे धानको पहिचान बचाउन पनि बीमा थालिएको कम्पनीले जनाएको छ ।

कृषि क्षेत्रको बीमाका लागि सरकारले ८० प्रतिशत रकम बेहाेर्दै आइरहेको छ । बाँकी २० प्रतिशत रकम बेहाेर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बीमा गरेको शिखर बीमाले जनाएको छ । मार्सी धान जुम्लाको पहिचान भएकाले बीमा कार्यक्रम सुरु गरिएको छ ।

जुम्लामा प्रतिरोपनी मार्सी धानखेती गर्न किसानको चार हजार नाै सय ६५ रुपैयाँ खर्च हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बीमाबापत किसानले सरकारले बेहाेर्ने रकम कटाएर प्रतिरोपनी ५० का दरले प्रिमियम तिरिरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले जानकारी दिए ।

जिल्लाभर झन्डै तीन हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार पाँच सय हेक्टरमा कालीमार्सी धानको खेती हुने गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया