


बाजुराको बुढीगंगामा भाेलि मतदान हुँदै

बाजुरा – बाजुराको बुढीगंगा नगरपलिकामा यसअघि स्थगित भएको निर्वाचन अन्र्तगत बिहीबार मतदान हुँदैछ । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान स्थगित गरिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए ।
निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि बढाएको उनले बताए। उनका अनुसार सबै मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।
१० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको उनले बताए । उनका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुनेछ । बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

