


कांग्रेस उपसभापति गुरुङद्वारा अर्थमन्त्रीलाई बर्खास्त गर्न माग

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट बर्खास्त गर्न माग गरेका छन् । सामाजिक संजाल ट्वीटरमार्फत नेता गुरुङले यस्तो बताएका हुन् ।
उनले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा वा बर्खास्तमध्ये यी तीन प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएका छन् ।
उनले लेखेका छन्, ‘गैरसंवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामेरामार्फत निगरानी गरिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ । जनताले हेर्न पाउनुपर्छ ।’
यस्अघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि संसदीय छानबिन समितिको गठन गर्न माग गरेका थिए । उनले अर्थमन्त्रीको सम्बन्ध विवाद समाधान गर्न छानविन समिति गठन गर्नुपर्ने बताएका छन् । कांग्रेस महामन्त्री गगन थापाले भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताइसकेका छन् ।

