
पर्यटन क्षेत्रको उत्थान मेरो प्राथमिकता – मन्त्री श्रेष्ठ
काठमाण्डौं –संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थानको लागि आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
नेपाल पर्यटन बोर्डले नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठको स्वागतमा मंगलवार बोर्डमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राखेको बताए ।
पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको भन्दै श्रेष्ठले बोर्डलाई रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गरे ।
संस्कृति पर्यटन तथा नागरिक उडड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसावले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहको जानकारी दिए ।
बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न कामहरु गरिरहेको जानकारी दिँदै मन्त्रिबाट प्राप्त रचनात्मक निर्देशन र सुझाव अनुरुप बोर्डले काम गर्ने बताए । सो अवसरमा कार्यकारी प्रमुख डा. रेग्मीले पर्यटन बोर्डका गतिविधिका बारेमा जानकारी दिएका थिए ।
नेपाल पर्यटन बोर्ड एकल कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले पर्यटन प्रर्वद्धन तथा नयाँ कार्यक्रम कार्यान्वयनका लागि बोर्डका कर्मचारी सधैं तत्पर रहको बताए । सो अवसरमा फोटो पत्रकार भरतबन्धु थापाले लेखन तथा संकलन गरेको ‘वेस्र्टन नेपाल’ पुस्तकको विमोचन गरिएको थियो ।



कागजपत्र |
