

ओलीविरुद्ध मोर्चाबन्दी कस्न प्रचण्ड–नेपालको प्रस्तावमा यस्तो छ देउवाको ‘सरप्राइज’ जवाफ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी कसी सडक संघर्षमा जानका लागि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेको प्रस्तावमा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले ‘सरप्राइज’ जवाफ दिएका छन्।
प्रतिनिधि सभा विघटनको निर्णय गरेका ओलीविरुद्ध मोर्चाबन्दी कस्दै आगामी सत्ता साझेदारीका क्रममा प्रधानमन्त्री पद समेत लिनका लागि प्रचण्ड र नेपालले बुढानिलकण्ठ पुगेरै प्रस्ताव गरेका थिए।
यति मात्र नभएर सातै प्रदेशमा सरकारमा साझेदारीका लागि पनि प्रस्ताव गरिएको थियो। तर यसलाई देउवाले तत्काल स्वीकार गर्न नसकिने जवाफ दिए। उनले निर्वाचनमा नै जान सक्ने आशयमा प्रचण्ड–नेपाललाई निराशजस्तो बनाएको बताइएको छ। ‘अहिले यो मुद्दा अदालतमा छ। अदालतले निर्णय गरेपछि मात्र हामी कुन रणनीतिमा अगाडि बढ्ने भन्ने तय हुनेछ’, देउवाले प्रचण्ड–नेपाललाई भने,‘चुनाव भएको खण्डमा चुनावमा जाने हो, त्यसबेलाको कुरा त्यसबेला नै हुनेछ।’
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलन र संघर्षमा कसैसँग मोर्चाबन्दी नगर्ने जवाफ दिँदै प्रचण्ड–नेपाललाई अर्को दुखान्त निर्णय सुनाएका थिए। ‘हामी एक्लै मैदानमा जानेछौं, संघर्ष गर्नु परे नेपाली कांग्रेसले अलग र एक्लै गर्नेछ’, देउवाको उत्तर थियो।
अहिले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी नै रहेको विषय उल्लेख गर्दै कुनै पनि प्रकारको प्रस्ताव तत्कालका लागि नल्याउन भन्दै देउवाले भने,‘हामी जुन बाटोमा गए पनि साथीहरूसँगको सल्लाहका आधारमा जानेछौं तर तपाईहरूको पार्टी विभाजन भइनसकेको अवस्थामा कुनै गुटसँग सहकार्य हुनेछैन।’

