‘कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट, विदेश धाउनु पर्दैन’


काठमाडाैं – कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकारवालाले जनाएका छन् ।

उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडाैं समिति र कलेज रिडर्र पत्रिकाले आज बिहीवार आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यालय तहको पाठ्यक्रम र परीक्षा पद्धतिमा आमूल परिवर्तन गर्न लागिएकाले नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको बताए।

उनले कक्षा ८, १० र १२ को बोर्ड परीक्षा गर्न प्रश्न बैंक निर्माण र शिक्षकलाई तालिमका लागि कार्ययोजना तयार गरिएको जानकारी दिए । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले कक्षा ११ र १२ को शिक्षा तुलनात्मक रूपमा गुणस्तरीय, सुलभ र विश्वसनीय भएको जनाउँदै विदेशमा पुँजी पलायन गराउनुभन्दा स्वदेशमै पढाउन अभिभावकलाई आग्रह गरे ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विद्यार्थीलाई जीवनोपयोगी र व्यावहारिक शिक्षा दिनुपर्ने र यसका लागि शिक्षकलाई तयारी गर्नुपर्नेमा जोड दिए । प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारी र ऐन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयको योगदानलाई सरकारले कदर गर्नुपर्ने बताए ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आर्थिक रूपमा सक्षम र विपन्न सबै अभिभावकलाई सहज हुने गरी आधुनिक प्रविधिलाई समेटेर शिक्षा दिइए विद्यार्थी विदेशमा जान आवश्यक नपर्ने बताए।

प्रतिक्रिया