एकीकृत समाजवादी पार्टी अध्यक्ष नेपालसँग गृहमन्त्री खाणको भेटघाट

नगरिकता विधेयकको विषयमा कुराकानी


काठमाडौं – नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले भेटघाट गरेका छन् । एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्रीसमेत सहभागी थिए । अध्यक्ष नेपालसँग पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए ।

भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको छ । ‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् ।

‘उनीसँगै म र मन्त्रालयका कानुनका सहसचिव कोमल खत्री पनि गएका थिए । कुराकानी सकारात्मक भएको छ,’ गृहसचिव पाण्डेले भने।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाणले सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेट्नु भएको हो ।

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन् । उनले यसअघि प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउन भेट्नु भएको छ । सबै नेताहरूसँगका भेट सकारात्मक भएका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ। नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया