
सापटी दिएको पैसा फिर्ता नदिँदा पिक प्रहार गरी वृद्धको हत्या, युवक पक्राउ
वीरगञ्ज – सापटी दिएको पैसा फिर्ता माग्दा नदिएको रिसमा बारा कलैया उपमहानगरपालिकाका एक वृद्धको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कलैया उपमहानगरपालिका–९ का ७२ वर्षीय वृद्ध अहमद मिया चुडिहारको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही स्थानमा ३१ वर्षीय बजरंगी साह तुरहा छन्। वृद्ध चुडिहारको जेठ २७ गते आँप बगैँचामा रहेको फुसको छाप्रोमा शरीरको विभिन्न भागमा हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव बरामद भएको थियो।
अनुसन्धानका क्रममा तुरहाले कर्तव्य गरी मारी मृतक वृद्धसँग भएको मोबाइल तथा केही नगदसमेत खोसी फरार भएका थिए। उनलाई खोजतलासका क्रममा मृतकले प्रयोग गर्ने मोबाइल सेटसहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए।
पक्राउ परेका तुरहाले मृतकलाई पैसा दिएको र फिर्ता माग्दा वृद्धले अहिले छैन पछि दिन्छु भन्दा रिसको झोकमा आएका तुरहाले पिक प्रहार गरी हत्या गरेको थापाले बताए। पक्राउ परेका तुरहालाई कर्तव्य ज्यान मुद्दाका अदालतबाट पाँच दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।



कागजपत्र |
