अर्थमन्त्रीले कि राजीनामा दिऊन्, कि प्रधानमन्त्रीले बर्खास्त गरून् : कमल थापा


काठमाडाैँ। बजेट निर्माणका क्रममा गम्भीर लापरबाही आरोप खेपिरहेका अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामा दबाब बढेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि सोमबार साँझ सामाजिक सञ्जालमार्फथ शर्माको राजीनामा मागेका छन्।

बजेट निर्माण र खासगरी करको दायरा निर्धारणमा गैरजिम्मेवार व्यक्तिलाई सामेल गरेको भन्दै थापाले शर्मासँग अब राजीनामाको विकल्प मात्रै रहेको बताएका छन्।

यदि शर्माले राजीनामा नदिए उनलाई पार्टीले फिर्ता बोलाउने या प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गर्नुपर्ने तर्क थापाले गरेका छन्।

‘बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशील/गोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य हो। अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजिनामा दिनुपर्छ’, थापाले भनेका छन्, ‘अन्यथा उहाँलाई प्रमले पदबाट हटाउनु पर्छ वा पार्टीले फिर्ता बोलाउनुपर्छ।’

प्रतिक्रिया