मेयर बालेन र फ्रान्सका राजदूतबीच शिष्टाचार भेट


काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन साहसँग फ्रान्सका राजदूत जील बुर्बाओले शिष्टाचार भेट गरेका छन्। प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका मुख्य विषयमा कुराकानी भएको थियो ।

‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ। फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्द्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ।’ प्रमुख साहले भने, ‘विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दैछौँ।’

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गरे। भेटका क्रममा राजदूत बुर्बाओले सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए।

‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ।’ राजदूत बुर्बाओले भने। उनले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा पनि चासो राखेका थिए।

‘काठमाडौंको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनोरेलभन्दा सहरी केबलकार उपयोगी हुन्छ। अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ। मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ।’ उनले भने। कुराकानीपछि राजदूत बुर्बाओले प्रमुख साहलाई सहरी केबलकार सञ्चालनसम्बन्धी सोच पत्र प्रदान गरेका थिए।

प्रतिक्रिया