जिल्ला समन्वय समिति दाङको प्रमुखमा नित्यानन्द र उपप्रमुखमा चेतना निर्विरोध


घोराही – जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । निर्वाचन कार्यतालिका अनुसार जेठ २९ गते हुने निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ताको समय रहेको थियो ।

तर तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता नभएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रकातर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन ।

जस अनुसार जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्मा निर्विरोध चयन भएका छन। नेकपा एमालेले उम्मेदवारी दर्ता नगराएसँगै गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका शर्मा निर्विरोध निर्वाचित भएका हुन। यद्यपि निर्वाचन आयोगले भने आधिकारिक रुपमा घोषणा गरेको छैन ।

स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका-७ वडा नम्वरबाट वडा सदस्यमा निर्वाचित भएका शर्मालाई कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार बनाएको थियो । उपप्रमुखमा नेपाली कांग्रेसका चेतना चौधरी निर्विरोध निर्वाचित भएका हुन ।

नित्यानन्द यसअघि कांग्रेसकै महाधिबेशन प्रतिनिधि भएर काम गरेका थिए । २०७४ मा उप प्रमुखमा हारेका उनी यसपाली कांग्रेसबाट जिल्ला समन्वय समितीको प्रमुखमा निर्वाचित भए । २०३६ सालबाट नेबिसंघबाट राजनीति प्रवेश गरेका उनी कांग्रेस दाङकै जिल्ला सदस्य हुँदै सह सचिवसम्म भए ।

२०५३ सालमा वडा अध्यक्ष जितेर तत्कालिन कांग्रेस नेता भरत केसी नेतृत्वको जिल्ला विकास समितिमा सदस्यमा उनी निर्वाचित भए । उनी २०२१ साल ३ महिना १३ गते जन्मिएका नित्यानन्द सामाजिक संघ सस्थाको नेतृत्वमा रहेर कुशलतापुर्वक जिम्मेवारी निर्वाह गर्दै आएका छन ।

उप प्रमुखमा निर्विरोध निर्वाचित चेतना सामाजिक संघ सस्थामा उत्तिकै सक्रिय महिला नेतृ हुन । कांग्रेसको क्षेत्रिय प्रतिनिधी रहेकी उनको जन्म २०३८ साल ४ महिना २४ गते भएको हो ।

सदस्यमा नेपाली कांग्रेसबाट कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल(महिला सदस्य ), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य ) र कल्पना शेर्पाइली (महिला सदस्य ) र नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य ) र दुर्पती चौधरी (खुला सदस्य) मा निर्विरोध निर्वाचित भएका छन ।

प्रतिक्रिया