


पिइएले इन्जिनियरिङ तयारी कक्षामा १००१ जनालाई छात्रवृत्ति दिने

काठमाडौँ- पिइए एसोसिएसनले स्थापनाको २८ औँ बर्ष पुरा गरेको उपलक्ष्यमा इन्जिनियरिङ तयारी कक्षा लिन चाहने एक हजार एक विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने जनाएको छ।
एसोसिएसनले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै विभिन्न विश्वविद्यालयले इन्जिनियरिङ विषय तर्फ सञ्चालन गर्ने प्रवेश परीक्षाको अनलाइन माध्यमबाट तयारी गर्ने विद्यार्थीलाई पहिले भर्ना हुने प्राथमिकताको आधारमा छात्रवृत्ति उपलव्ध गराउने जनाएको हो।
एसोसिएसनका सिइओ लक्ष्मण पोखरेलले इन्जिनियरिङ तयारी कक्षामा भौतिक रुपमा उपस्थित हुन नसक्ने विद्यार्थीलाई घरमै बसेर जनसुकै समयमा कक्षामा सहभागी हुन सक्ने व्यवस्था गरिएको बताए। उनले भने,‘पिइएमा अध्ययन गरेका विद्यार्थीले प्रत्येक वर्ष प्रवेश परीक्षा उत्तिणर् गर्ने गरेका छन्।
२८ वर्षको अवधिमा १ लाख ५० हजार जना विद्यार्थीले प्रवेश परीक्षाको तयारी गरिसकेका छन्। पिइएले मेन्टर्स डिजिटल लर्निङ प्लेटफर्म मार्फत इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कोर्स उपलव्ध गराउने जनाएको छ।
कार्यक्रममा बोल्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउन सके उनीहरूले प्रवेशपरीक्षाको तायारी गरेर विश्वविद्यालयमा छात्रवृत्तिमा पढ्ने अवसरका लागि प्रतिस्पर्धा गर्न सक्ने बताए।
उनले भने,‘छात्रवृत्तिको मोडालिटी परिवर्तन गरेरै भएपनि विपन्न परिवारबाट अधययनमा रुचि राख्ने जेहेन्दार विद्यार्थीलाई अवसर दिनुपर्छ। सरकारले छात्रवृत्तिमा पढेका विद्यार्थीलाई केही समयका लागि काममा खटाउन सक्नुपर्छ। उच्च शिक्षा आर्जन गर्न विद्यार्थी विदेशिने समस्या छ। यसलाई हल गर्न पनि विश्वविद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्नुपर्छ।’
कार्यक्रममा छात्रवृत्तिको विषयमा शिक्षक महासंघको अध्यक्ष कमला तुलाधर, राष्ट्रिय प्याव्सन अध्यक्ष सुवास न्यौपाने, प्याव्सन अध्यक्ष डिके ढुंगाना, अभिभावक महासंघको अध्यक्ष सुप्रभात भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए।

