काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, दिनभर पानी पर्ने


काठमाडौं- काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो। आज दिनभर काठमाडौंमा वर्षाको सम्भावना उच्च रहेको मौसमविद् सजिना शाक्य बताउँछिन्। यद्यपि, केही समय पानी पर्ने क्रम रोकिन पनि सक्ने उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेशका थोरै स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आजराति प्रदेश १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मौसमविद् शाक्यका अनुसार हाल पूर्वी नेपालमा मात्रै मौसमी वायु सक्रिय रहेको छ।

मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रतिक्रिया