निर्वाचित वडा सदस्यको दोहोरो नागरिकता !
माओवादी केन्द्रबाट गाेदावरी नपा वडा नं. ८ बाट निर्वाचित दनुवारले दोहोरो नागरिकता लिएको पुष्टी
ललितपुर – ललितपुरको गोदावरी नगरपालिका वडानं. ८ का नवनिर्वाचित वडासदस्यले दोहोरो नागरिकता लिएको खुलेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ बाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिई निर्वाचित भएका रामबल भनिने विराज दनुवारले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट फरक फरक जन्ममिति उल्लेख गरी दुईवटा नागरिकता लिएको पुष्टी भएको हो ।
दनुवारले दोहोरो नागरिकता लिएको भन्दै ललितपुर परिसरमा उजुरीसमेत परेको छ । निज दनुवारले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ८ साविक डुकुछाप गाविस वडा नं. ४ स्थायी ठेगाना राखि नागरिकता लिएको खुलेको हो । उनले फरक फरक जन्ममिति राखेर नागरिकता लिएका छन् । दनुवारले लिएको दुवै नागरिकता अनुसार मतदाता नामावली पनि बनाएको पुष्टी भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ स्थित गणेश मावि डुकुछाप मतदान केन्द्र रहेको मतदाता नामावलीको क्रम संख्या १४२९ र १४३० मा उनको नामावली रहेको छ । उक्त नामावलीमा एउटामा नागरिकता नं. ४००३५ बाट मतदाता नामावली दर्ता गरेका दनुवारको २०४६ साल भदौ १४ गते जन्ममिति रहेको छ भने क्र.सं. १४३० नम्बरको मतदाता नामावलीमा ०५०७५ नागरिकता नम्बरमा २०४८ साल भदौ १६ गते जन्ममिति उल्लेख गरिएको छ । उनले दुवै नागरिकता जिल्ला प्रशासन कार्यालय ललितपुरबाट लिएको पनि जनाइएको छ ।
उनको मतदाता नामावलीमा बुवाको नाम एउटै छ भने आमाको नाम भने फरक फरक रहेको छ ।
उनले पहिलो नागरिकता २०६२ साल मंसिर १३ गते लिएका थिए भने दोस्रो नागरिकता २०६९ साल पुस ११ गते लिएको पनि जनाइएको छ ।
यस सम्बन्धीमा उजुरी परेपछि ललितपुर परिसरले छानबिन सुरु गरिसकेको जनाइएको छ । प्रहरीले यसबारेमा थप अनुसन्धान गरी तत्काल नियन्त्रणमा लिने वा अन्य कारबाही अगाडि बढाउने तयारी गरिरहेको छ ।