गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु


ललितपुर–ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित खयरघारी खेलमैदानमा ‘गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ शुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै आयोजनामा आजदेखि आउँदो बुधबारसम्म पाँच दिन उक्त खेल सञ्चालन हुने छ ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले प्रतियोगितामा १४ समूहका खेलाडीले भाग लिने बताए । उनले भने, ‘युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन गत वर्षबाटै हामीले यस कामको थालनी गरिसकेका छाँै ।’ खयरघारी खेल मैदान गाउँपालिकाको प्रमुख मैदान भएको हुँदा आर्थिक वर्ष २०७६÷७७ मा रु १५ लाख विनियोजन गरी सुधारका काम गर्नुका साथै आउँदो आर्थिक वर्षमा पनि केही बजेट विनियोजन गरेर सुविधासम्पन्न मैदान बनाउने योजना रहेको उनको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष रञ्जना तिमिल्सिनाले गाउँपालिकाले आयोजना गरेका खेलमा सहभागी हुने खेलाडीको एक झुन्ड बनाई विभिन्न स्थानमा समेत खेलाउन लैजाने धारणा व्यक्त गरे । उनले भने, ‘खेलकूदको माध्यमबाट गाउँपालिकामा रहेका युवा क्लबका भाइबहिनीको क्षमता विकास गर्नेछाँै ।’ गाउँपालिकाले खेलकूदका सामग्रीसमेत वितरण गर्ने गरेको उपाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

आज भएको खेलकूद प्रतियोगिताको शुभारम्भ योङ ब्रदर्श फुटबल क्लब गिम्दी र छोग्रे युवा फुटबल क्लब प्युटारबीच हुने छ । प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्रसहित रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

(रासस)

प्रतिक्रिया