मुस्ताङमा तारा एयरको जहाज दुर्घटना: आज पनि खोजी कार्य जारी, मौसम खराब भएकोले हेलिकप्टर उड्नै सकेन


काठमाडाैँ- पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोजीका लागि स्थल र हवाइमार्गबाट प्रयास भइरहेको छ। उनले भने अनुसार हवाइमार्गबाट खोज्न भने समस्या भएको छ। ‘मुस्ताङको माैसम अझै खराब नै छ,’ उनले भने, ‘दुवै मार्गबाट खोजी सुरू गरेका छाैँ। तर माैसम खराब भएकोले हवाइमार्गबाट खोज्न गाह्रै भएको छ।’

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन छ। आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पारेका थिएनन्।

आज थप हेलिकप्टर मगाएर सम्पर्कविहीन जहाजको खोजी गरिने छ। उनकाअनुसार कोवाङ आसपास धौलागिरि हिमाल रेन्जतर्फ खोजी कार्यलाई केन्द्रित गरिनेछ।

‘जमिन र आकाशबाट खोजी कार्यलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘स्याटेलायट इमेज मगाएर सम्भावित स्थानमा खोजी कार्य जारी छ।’

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। स्थानीयहरूले लार्जुङ क्षेत्रमा जहाज कराएको सुनेको भनेकोले सुरक्षाकर्मी त्यता पनि केन्द्रित छन्।

प्रतिक्रिया