राजस्थानलाई हराउँदै गुजरातले जित्यो आईपीएलको उपाधि


काठमाडौँ- नवप्रवेशी टिम गुजरात टाइटन्सले १५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ।

आइतबार राति अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात विजेता बनेको हो।

यसै सिजनमा डेब्यु गरेको गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराउँदै फाइनलमा पुगेको थियो। दोस्रो क्वालिफायरमा बेंगलोरलाई हराउँदै फाइनलमा पुगेको राजस्थानलाई पुन: पराजित गर्दै गुराजतले १५औं संस्करणको ट्रफी आफ्नो नाममा गरेको हो।

गुजरातको घरेलु मैदानमा राजस्थानले टस जितेर ९ विकेटको क्षतिमा १३० रनको योगफल तयार पारेको थियो। १३१ रनको विजयी लक्ष्य गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

गुजरातका लागि सुभमन गिलले अविजित ४५ रन बनाए। कप्तान हार्दिक पान्ड्या ३४ रन, डेभिड मिलरले अविजित ३२ रन जोडे।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रासिद कृष्णा र युजभेन्द्र चाहलले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको राजस्थानका लागि १३० रनको योगफल तयार पार्ने क्रममा जोस बट्लरले सर्वाधिक ३९ रनको योगदान गरे। यशस्भी जैसवालले २२, रियान पराग १५ र कप्तान सन्जु सामसनले १४ रन जोडे।

गुजरातका हार्दिक पान्ड्याले ३ विकेट लिए। रभीश्रीनिवासन साई किशोरले २ तथा यश दयालले १ विकेट लिए।

प्रतिक्रिया