१०.८ प्रतिशतले बढ्यो नेपालीको प्रतिव्यक्ति आय
काठमाडाैँ- आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय दोहोरो अंकले बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय (प्रचलित मूल्यमा) अमेरिकी डलर १ हजार २ सय ४६ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो आय १०.८ प्रतिशतले बढेर अमेरिकी डलर १ हजार ३ सय ८१ रहने अनुमान छ।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय अमेरिकी डलर १ हजार ६ सय ८३ पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा यस्तो आय अमेरिकी डलर १ हजार ५ सय ५७ रहेको थियो।
त्यस्तै प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर कोभिड पूर्वको अवस्थामा पुगेको छ।
आर्थिक वर्ष २०७६/७७ मा ०.२ प्रतिशतले घटेको प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन पछिल्ला दुई वर्षमा भने क्रमशः ८.९ प्रतिशत र १२.३ प्रतिशतले बढेको हो।
आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १२.३ प्रतिशतले बढेर १ लाख ६४ हजार ५ सय ९८ रहने अनुमान छ। आर्थिक वर्ष २०७७/७८ मा यस्तो आय १ लाख ४६ हजार ५ सय रहेको थियो। पछिल्लो दश वर्षको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको औसत वृद्धि ९.७ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (स्थिर मूल्यमा) ४.८ प्रतिशतले वृद्धि भई ८५ हजार ५ सय ५ पुग्ने अनुमान छ। आर्थिक वर्ष २०७७/७८ मा यस्तो आय ३.२ प्रतिशतले वृद्धि भई ८१ हजार ५ सय ७३ रहेको थियो।विगत दश वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (स्थिर मूल्यमा) को औसत वृद्धिदर ३.५ प्रतिशत रहेको छ।