
कालीगण्डकीले ग्यास प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने
स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोवास गर्ने झण्डै चार हजार ६ सय घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् ।
गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, घर–घरमा रहेका ग्यासका सिलिन्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौँ । यसलाई आउँदाे गाउँ सभाबाट पारित गरेर लागू गर्ने उनले बताए ।
कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विद्युतकाे प्रयोगमा जोड दिइएको बताए । यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्शन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो ।
त्याे कार्यक्रम प्रभावकारी भएसँगै यस पटक पूरै गाउँपालिकाभरि नै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारिएको हो । गाउँपालिकाले विद्युतकाे पहुँच सबै घरधुरीमा पुर्याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो ।



कागजपत्र |
