झापाका दुई पालिका प्रमुखमा महिला निर्वाचित


झापा– झापाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुखमा महिला निर्वाचित भएका छन्। निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेकी छन्। महतरा नेकपा (एमाले)बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी बनेकी हुन्।

झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो। मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र भए।

एमालेले दमकमा गीता अधिकारी, बिर्तामोडमा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई प्रमुखको उम्मेदवार बनाएको थियो। अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित भइन्।

यसैगरी, कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो। कार्की एमालेका बलदेव गोम्देनसँग पराजित बनिन् भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी बनिन्।

बिर्तामोड नगरप्रमुख महतरा २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदमा विजयी बनेकी थिइन्। राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपासँग पराजित भएकी थिइन्।

झापामा अघिल्लो निर्वाचनमा कमल गाउँपालिकाले मात्र महिला अध्यक्ष पाएको थियो। जिल्लाका १२ पालिकामा महिला उपप्रमुखमा निर्वाचित भएका थिए भने भने कचनकवल, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगपालिकामा मात्र पुरुष उपप्रमुखमा निर्वाचित भएका थिए।

प्रतिक्रिया