

नवलपुरको बौंदीकालीमा प्रमुख–उपप्रमुखसहित ४ वटा वडामा एमाले विजयी

बौंदीकाली – नवलपुरको बौंदीकाली गाउँपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
भर्खरै सम्पन्न मतगणनाअनुसार गाउँपालिका प्रमुख पदमा नेकपा एमालेका प्रकाश ओझा र उपप्रमुखमा डिलकुमारी सारु विजयी भएका हुन् । ओझाले ३९७६ मत ल्याएर जित हात पारेका हुन् भने उपप्रमुखमा सारुले ३९६२ मत ल्याउँदै विजयी भएकी हुन् ।
ओझाले नेपाली कांग्रेसका उम्मेदवार केबी रानालाई ४३५ मतको अन्तरले पराजित गरेका हुन् भने सारु कांग्रेस उम्मेदवार धनकान्ती घिमिरेलाई ४५६ मतले पराजित गर्दै दोस्रो प्रयासमा उपप्रमुख बन्न सफल भएकी हुन् ।
बौंदीकालीका ६ वटा वडामध्ये ४ वटामा नेकपा एमालेको प्यानल विजयी भएको छ भने २ वटामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
मतगणनाअनुसार अहिले वडा नं. १ मिथुकरममा नेकपा एमालेका अनिल थापा विजयी भएका छन् । त्यस्तै वडा नं. २ डेढगाउँमा श्याम श्रेष्ठ, वडा नं. ३ रकुवामा तेजबहादुर झेंडी विजयी भएका छन् । उनीहरु दुवैजना नेकपा एमालेका उम्मेदवार हुन् । त्यस्तै वडा नं. ५ मा खिमबहादुर खरुको प्यानल नै विजयी भएका छन् ।
त्यस्तै वडा नं। ४ र ६ मा नेपाली कांग्रेसका क्रमशः मनबहादुर सारु र खुमबहादुर सारुको प्यानल नै विजयी भएका छन् । पालिका प्रमुखमा उम्मेदवारी दिएका माओवादी केन्द्रका टंक पुलामीले १५ मत प्राप्त गरेका छन् भने प्रमुखमै स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण पराजुलीले शुन्य मत प्राप्त गरेका छन् ।

