वुद्ध एयरले रात्रिकालीन उडान सुरु गर्ने


काठमाडौं – वुद्ध एयरले मे १५ तारिखदेखि रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थलहरू १८ घण्टा खुला राख्ने निर्णय गरेसँगै वुद्ध एयरले विभिन्न गन्तव्यहरूका लागि दिन र रात्रिकालीन उडान सेवा सुरु गर्ने भएको हो।

तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमराका लागि रात्रिकालीन उडान उपलब्ध हुनेछन्। यी उडानका समयहरू राती ८ बजेदेखि र त्यसपछिका मात्र हुने बुद्ध एयरले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने वुद्ध एयरले जनाएको छ । रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि उनीहरूको भनाइ छ ।

वुद्ध एयरले रात्रिकालीन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरूको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास वुद्ध एयरको छ ।

वुद्ध एयरले काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरि रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ ।

प्रतिक्रिया