नेप्सेमा उछाल कायमै, ५६ अंकले नेप्से बढ्दा सवा २ अर्बको कारोबार
काठमाडौं – नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन उकालो लागेर बन्द भएको छ।
बुधबार नेप्से परिसूचक ५६.०६ अंक बढेर २३६९.०६ विन्दुमा पुगेको छ। यस दिन बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेसँगै बजारले गति लिएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ९.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबार दिन डेढ अर्बभन्दा कम रकमको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ स्टकको ३७ हजार ७७० पटकको कारोबारमा २ अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँ बराबरको ५३ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, जाल्पा लघुवित्त, गणपति लघुवित्त र बरुण हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन ७ स्टकको मूल्य मात्र घटेको छ। जसमा अधिकांश ऋणपत्र र म्युचुअल फण्ड रहेका छन्।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ८ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।