काठमाडौंबाट एमाले ‘क्लिन स्वीप’ हुन्छ : एमाले नेता मानन्धर

मेयरमा स्थापितले चुनाव हार्नुका कारण यस्ताे देखाए


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य, प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धरले काठमाडौंका सबै स्थानीय तहको शुक्रबार हुने निर्वाचनमा एमाले क्लिन स्वप हुने बताएका छन् ।

एमाले नेतृत्वको पूर्वाग्रही र अदूरदर्शी नीति तथा केही काठमाडौंकै नेताका कारण पार्टीले काठमाडौं जिल्लाको १ महानगर र १० वटा नगरपालिकामा चुनाव जित्न नसक्ने स्पस्ट पारेका हुन् ।

काठमाडौंको ९ वटा नगरपालिकामा पुरानै उम्मेदवारलाई दोहोर्याएर नगरप्रम्ुखमा उम्मेदवार बनाए पनि कामठाडौं महानगर र कीर्तिपूर नगरपालिकामा नयाँ र विवादस्पद व्यक्तिलाई उम्मेदवार बनाएका कारण एमाले कमजोर भएको मानन्धरको विश्लेषण छ ।

काठमाडौंको क्षेत्र नं ७ वाट प्रतिनिधिसभामा भारी मतान्तरले विजयी भएका मानन्धरले काठमाडौं उपत्यकाको सबै तहबाट एमालेले उम्मेदवार दोहोर्याउँदा काठमाडौँमा विद्यासुन्दर शाक्य र कीर्तिपुरमा रमेश महर्जन मात्रै छुटाएर गलत कार्य गरेको बताए ।

एमालेको तर्फबाट काठमाडौ महानगरको प्रमुखमा उम्मेदवार भएका केशव स्थापितले ’मि टु’को कुरा उठ्ने वित्तिकै रिसाउनु, झर्केर–फर्केर जवाफ दिनू, ‘रिसको भाँडो हुँ, कराते खेलेको छु’ भन्नुले एमालको तमाम कार्यकर्ता र नेताको शीर झुकाएको बताउनु भयो ।

‘नयाँ बसपार्क ५० वर्षसम्मका लागि कसरी लिजमा दिनुभयो ? धरहरा कसलाई कसरी लिजमा दिनुभयो ? सुन्धाराको पानी सुक्ने गरी काठमाडौँ मल कसरी बनाउन दिनुभयो ?, नक्सापासदेखि, कसको जग्गा थियो ? के थियो भन्ने इतिहास खोलिदियो भने उहाँले के गर्नुहुन्छ ?’, मानन्धरको प्रश्न थियो ।

उनले भने ‘काठमाडौँ महानगरपालिकाभित्र बनेको आकाशे पुलको ठेक्का कसलाई दिइएको थियो ?, माइतीघर मण्डला बनाउन कति रुपैयाँ लाग्नेमा कति खर्च गर्नुभयो भनेर सोध्दा उहाँको जवाफ के हुन्छ ? माइतीघरका घर कस्ता थिए, कति रुपैयाँको बिल पेश भएको थियो भनेर सोध्यो भने के हुन्छ ?’

उनले कुनै विषय उठ्यो भन्दैमा रिसाएर, झम्टेर पार्टीकै बदनाम हुने गरी प्रस्तुत मिटुको प्रश्न उठ्दैमा स्थापितले जुँडो र करातेको पोजिसन देखाएर गल्ती गरेको भन्दै गल्ती गर्नेलाई जोगाउने पक्षमा आफू नरहेको बताएका छन् ।

‘हिँजो बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीबाट निकाल्नुको कारण के हो ? यदि, आज मेयरको दाबेदार बनाउनु थियो भने हिजो मन्त्रीबाट घोक्रेठ्याक लगाएर स्थापितलाई किन निकालेको?’ मानन्धले भने ।

प्रजा परिषदको अध्यक्ष हुने, २०५९ मा तत्कालीन राजाको टिके मेयर बन्ने, राजतन्त्र ढलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मित लगाएर काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यकारी प्रमुख हुने, बाबुराम भट्टराईले घर भत्काउन भनेर प्राधिकरणको प्रमुख हुने व्यक्ति को हुन भनेर काठमाडौँका जनताले नभुलेको उनले बताए ।

नयाँ बसपार्क ५० वर्षका लागि लिजमा दिनुहुँदैन भनेर कराउने मान्छे आफू नै भएको भन्दै उनले जापानले उपहारमा दिएको एउटा बसपार्क टुक्राटुक्रा पारेर सव–लिजमा दिइएको विषय सर्वोच्च अदालतमा चलिरहेको बताए ।

२०४९ मा केशव स्थापित काठमाडौँको उपमेयरमा नविन्दराज जोशीसँग हारेको, छाता चुनाव चिह्न लिएर २०७० मा सांसदमा उठ्दा एक हजार भोट नकटाएको कुरा उहाँले सम्झनु पर्ने बताए ।

काठमाडौँ जिल्लाको एमाले नेतृत्व पार्टी सिध्याउन पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, सांसद कृष्ण राई, दीपक निरौला र केशव स्थापितहरू नै लागेको मानन्धरले दाबी गरे ।

आफू दुई पटक निर्वाचित सांसद, मन्त्री भइसकेको कार्यकर्ता, पार्टीको प्रदेश कमिटी सदस्य भए पनि उम्मेदवारबारे आफूलाई एक पटक पनि नसोधेको भन्दै उनले पार्टी सिध्याउन लाग्नेहरू पार्टीभित्रकै ‘रअ’का एजेन्ट नै हुन कि भन्ने लागेको बताएका छन् ।
अहिले अवस्था ‘जिउ सबै तल परिसक्यो, अनि एउटा खुट्टा माथि राखेर मैले जिते’ भनेर कसैले भन्छ भने मलाई केही भन्नु छैन । पार्टी त कति छन कति ? भइरहेको विरासत गुमाएर पूर्वराजा ज्ञानेन्द्रको जस्तो अवस्था भएपछि के हुन्छ ? हिङ नभए पनि हिङको टालो त छ नि भनेजस्तै हुँदैन र ? उनले प्रश्न गरे ।

एमालेमा अखिल नेपाल महिला संघ (अनेमसंघ) छ तर काठमाडौँमा नेतृत्व गर्ने महिला एमालेमा कोही पनि नभए जस्तै गरी एउटा हिरोनी आएर चुनाव लड्नुपर्ने अवस्थामा एमालेलाई कसले पुर्यायो भने उनले नेतृत्वसमक्ष प्रश्न गरेका छन् ।

‘पार्टीका महिला भोट र लेवी तिर्न मात्रै हुन त ? पार्टीमा लामो समयदेखि लागेका महिलाहरूको अधिकार नै छैन ? अनेमसंघ बनाउन धेरै रगत पसिना बगाएका मेरा दिदीबहिनी हुनुहुन्छ । पार्टीमा किन लाग्नु ? काठमाडौँको ११ वटै पालिका हार्ने गरी एमालेले टिकट बाँड्नुपर्ने अवस्था किन आयो ?’ मानन्धरले भनेका छन् ।

दृष्टि न्युज डटकमलाई दिएको अन्तवार्तामा मानन्धरले कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै काठमाडौँका जनताले हाँडीगाउँको जात्रा देखाइ दिन लागेको भन्दै अब हसाउने र हास्ने मात्र नभइ जनताले एमालेलाई रुवाइ दिने अवस्थामा पुर्याएको बताएका हुन् ।

प्रतिक्रिया