

धनकुटामा निर्वाचन अवधिभर मदिरा बिक्री तथा सेवनमा रोक

धनकुटा – जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्वाचनलाई लक्षित गरी जिल्लाभर मदिरा उत्पादन, बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न रोक लगाएको छ ।
मौनअवधि सुरु हुने समय मंगलबार मध्य रातिदेखि निर्वाचनको अन्तिम मत परिणाम घोषणा नहुन्जेलसम्म मदिराको उत्पादन, बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न निषेध गरेको प्रशासनले जनाएको छ ।
स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत मदिरा प्रतिबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ को रहेको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न मदिरामा कडाइ गरिएको प्रजिअ कट्टेलको भनाइ छ । मदिरा सेवन, उत्पादन, बिक्रीवितरण तथा ओसारपसार गरिएको भेटिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

