आज मधेशका चार चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड


काठमाडौं – चुनावी प्रचारको दौडाहामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मधेस प्रदेशका चुनावी सभामा व्यस्त हुने छन्।

प्रचण्डले आज रौतहट, बारा, धनुषा र सर्लाहीका विभिन्न सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालये जनाएको छ।

स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि दलका शीर्ष नेताको दौडधुप बढेको हो।

वैशाख ३० गते हुने निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।

मतदान स्थलको ३ सय मिटर वरपर राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री मौन अवधि सुरु हुनुभन्दा अघि नै हटाउनुपर्छ। यस्तै अनलाइन, छापा, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ।

निर्वाचन आयोगले मौन अवधि सुरु भएदेखि मतदान सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ।

प्रतिक्रिया