यस कारण चितवन प्रहरीले पाएन नयाँ एसपी


काठमाडौं – मंगलवार बेलुका प्रहरी प्रधान कार्यालयले ३० एसपी र ६९ डिएसपीको सरुवा निकाल्यो । एक बर्ष कार्यकाल पुगेका र कतिपय एक बर्ष पुग्नै लागेका प्रायः सबै ईन्चार्जहरुको सरुवा भयो । तर आकर्षक तथा चुनौतीका रुपमा हेरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङको भने सरुवा सूचीमा नाम परेन । उनले राम्रो काम गरे बापत उनलाई उपहार स्वरुप अर्को पुनः थप कार्यकाल दिन लागेको भने होइन ।

केही एसपीको अस्वाभाविक दौडधुप र रस्सा–कस्सीको कारण चितवन जिल्ला एसपीको सरुवा केही दिनलाई टाढिएको मात्र हो । एक महिना अगाडीसम्म चितवन जाने प्रहरीले खुमलटारको चाकडी गर्नुपथ्र्यो । तर अहिले खुमलटारको नाम जोडिएका प्रहरी अधिकृतले चितवन त के पोस्टिङ समेत नपाउने अवस्था सिर्जना भएको छ । प्रायः चितवन जाने एसपीले पुष्पकमल दाहाल प्रचण्ड तथा प्रचण्डपुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चाकडी गर्नुपथ्र्यो । तर, अहिले दाहल परिवारसँग नाम जोडिएका प्रहरी अधिकृतको सरुवा समेत रोकिएको छ ।

चितवनबाट त्रिभुवन बिमानस्थल सरुवा भएका दानबहादुर मल्लले यसपटक कतै पोस्टिङ पाएनन् । उनीसँगै सरुवा भएका अधिकांस एसपीले पुनः जिल्ला ईन्चार्जको रुपमा आकर्षक पोस्टिङ पाएका छन् । एसपी मल्लले पर्सा जान लबिङमा लागेका थिए । पर्साबाट काठमाडौं परिसर सरुवा भएका एसपी सोमेन्द्र सिंह राठौरको पुनः मकवानपुर जिल्ला पोस्टिङ भएको छ ।

त्यस्तै सिराहाबाट सिआईबी सरुवा भएका उमाप्रसाद चतुरबेदीको कञ्चनपुर, दाङबाट सिआईबी बसेका बेल पाण्डेको पर्सा सरुवा भएको छ । यी त केही उदाहरणमात्र हुन् । अधिकांशले लगातार दुई पटकसम्म आकर्षक जिल्ला पोस्टिङ पाउँदा पनि एक पटक पोस्टिङ नहुने एसपी पनि धेरै छन् ।

देशकै केन्द्र मानिएको चितवनका लागि भने पाँच एसपीको शक्ति प्रर्दशनको कारण सरुवा रोकिएको स्रोतको दाबी छ । चितवन जान एसपी भूपेन्द्र खत्री, सोमेन्द्र सिंह राठौर, रेवती ढकाल, ईश्वर कार्की र श्यामकृष्ण अधिकारीले चितवनका लागि पहिलो प्राथमिकता साथै ‘चलखेल’ले चितवनको सरुवा रोकिएको स्रोतको दाबी छ ।

पाँच एसपीमध्ये एसपी भूपेन्द्र खत्रीको काभ्रे र सोमेन्द्रसिंह राठौरको मकानपुर सरुवा भईसकेको छ । अब एसपीत्रय रेवती ढकाल, ईश्वर कार्की र श्यामकृष्ण अधिकारीको सरुवा हुन बाँकी छ । यी मध्ये एक जनाले चितवन जिल्ला सम्हाल्ने सम्भावना बढी रहेको छ ।

प्रतिक्रिया