नेपाली सेनाको मार्चपास, मनिषा कोइरालाको अभियानसम्मले संकेत गरेका राजनीतिक अर्थ


काठमाडौं– राजावादी संघ संस्थाले विभिन्न प्रदर्शनका क्रममा मात्र राजसंस्थाको बेजोड माग भएको छैन। नेपालमा आधिकारिक संघ संस्था र विश्वमा नाम कमाएका चर्चित सेलिब्रिटीले पनि राजसंस्थालाई नेपालीको मौलिकतासँग जोडिएको अभिन्नता बताउन थालेका छन्।

नेपालको राष्ट्रिय शक्तिका रुपमा रहेको नेपाली सेनाले राजालाई मानिसकेको छ। उसले यसै साता पृथ्वीजयन्तीसम्मका लागि भनेर गोरखादेखि काठमाडौंसम्मको सैन्य मार्चपास थालिसकेको छ। राष्ट्रिय एकताका प्रतीक मानिने वडामहाराजधिराज पृथ्वीनारायण शाहको सम्मानमा सेनाले यस्तो मार्चपास गरेको छ। जसलाई अर्थपूर्ण मानिएको छ।

यति मात्रै होइन नेपाली सेनाको मुख्यालयमा पृथ्वीनारायण शाहको मूर्ति अगाडि नै बनाइएको छ भने प्रायः देशैभरी रहेका व्यारेकमा प्रतिमा खडा गरिएको छ। ‘राष्ट्रिय अखण्डता र प्रतीकका रुपमा रहेका नेपाल एकीकरणका महापुरुषको प्रतिमा सबै व्यारेकमा हुनेछन्’, सैन्य उच्च स्रोतले भन्यो।

अहिले सेनाले गरेको मार्चपासले पनि राजनीतिक अर्थ राखेको छ। व्यवस्था परिवर्तन वा लोकतन्त्र सुदृढिकरणको मुख्य शक्तिका रुपमा रहेको सेनाले गणतन्त्र स्वीकार गरिसकेको मुलुकमा राजाको प्रतिमा खडा गर्नु र मार्चपाससम्म गर्नुले केही संकेत गरिरहेको विश्लेषकहरु बताउँछन्। यसअघि नेपाली सेनाले यस्तो कार्यक्रम गरेको थिएन।

यसैबीच, राजसंस्थाका पक्षमा प्रकारान्तरका समर्थन र अभियान अकास्मात देखा पर्न थालेका छन्। त्यसको एउटा उदाहरण अभिनेत्री मनिषा कोइरालाको अभियान रहेको बताइन्छ। उनले पत्रकार सम्मेलन गरी पृथ्वीजयन्तीलाई भव्यताका साथ मनाउन अपिल मात्र गरेकी छैनन्, नेपालको अखण्डता कायम रहे मात्र नेपाली रहने सन्देश दिएकी छन्। उनको यो सन्देशले राजनीतिमा हाम फाल्नेमात्र नभएर राजसंस्थासहितको प्रजातन्त्रका पक्षमा रहेको छ।

उनले यस्तो भनक केही अन्तरवार्तामा दिएकी थिइन्। नेपालमा प्रजातान्त्रिक आन्दोलनका प्रणेता मानिने वीपी कोइरालाकी नातिनी मनिषा प्रकाश कोइरालाकी छोरी हुन्। प्रकाश राजसंस्था पक्षधर मानिन्छन्।  

प्रतिक्रिया