

नेपालमा पनि ३ जनामा देखियो बेलायतमा विकसित नयाँ कोरोनाको संकेत

काठमाडौँ – नेपालका पनि तीन जनामा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ भेरिएन्ट (नयाँ प्रजाति) को संक्रमण भएको संकेत पाइएको छ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकामा निर्देशक डा. वासुदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको हो।
कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्याइसक्ने योजना बनाएको छ । ‘हङकङ पठाउनका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसक्यो । नमुना पठाउने अनुमति प्राप्त भइसकेकाले सोमबारसम्म ल्याबमा पुगिसक्छ,’ एनपीएचएलकी निर्देशक डा. रुना झाले भनिन् । एसजिन नेगेटिभ देखिएकाको मात्रै नमुना पठाउन लागिएको उनले बताइन् ।
बेलायतबाट फर्केका ७ जनामा कोरोना पोजिटिभ देखिएको र तीमध्ये ३ जनामा नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो। सुरुमा बेलायतमा देखिएको यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ। विज्ञका अनुसार पुरानो कोरोनाले हजार जनामा फैलिन सक्छ भने यो १७ सय व्यक्तिमा सर्न सक्छ।
तर स्वास्थ्य जटिलताका हिसाबले भने पुरानो कोरोनाभन्दा यसको संक्रमण खासै अन्तर नभएको विज्ञको भनाइ छ। अहिले यो नयाँ प्रजातिको कोरोना भाइरस भारतसहित धेरै देशमा फैलिसकेको छ।

