बिद्रोही उम्मेदवार र उनका समर्थक र प्रस्तावक पार्टीबाट स्वतः निष्कासित – कांग्रेस


काठमाडौं । नेपाली काग्रेसले पार्टीको आधिकारिक उम्मेदवारबिरुद्ध उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारी दिने, त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बस्ने पार्टी सदस्यता लिएकाहरु विधान बमोजिम स्वत: निष्कासित भएको जनाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार साँझ विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरुको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरुको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपीसहित तत्काल केन्द्रमा पठाउन पार्टीका सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् ।

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा दलगत वा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरुलाई पार्टीले गत वैशाख १६ गते भित्र उम्मेदवारी फिर्ता लिन पार्टीले अनुरोध गर्दै समय अभावका कारण उम्मेदवारी फिर्ता लिन नपाएकाहरुलाई बैशाख १९ गते फिर्ता लिएको घोषणा गर्न आग्रह गरेको थियो ।

तर पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्धमा विद्रोही उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यको सदस्यता स्वतः समाप्त भई पार्टीबाट निस्काशित हुने वैधानिक व्यवस्था रहेको पार्टीले जनाएको छ ।

विद्राही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनःविचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निश्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन पार्टीले यस अघि नै आव्हान गरेको थियो ।

पार्टीको अनुरोधलाई समेत अटेर गरी पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुको पार्टी सदस्यता पार्टीको विधान बमोजिम समाप्त भई पार्टीबाट स्वतः निस्काशन भएको पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया