म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्रीकाे आग्रह


रुपन्देही- गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् । उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे।

मंगलबार गृह जिल्ला आएका गृहमन्त्री खाँणले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुुस्त बनाउनसमेत सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारीलगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिएका हुन् ।

उनले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान र मतदानस्थल, मतपेटिकाको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गरे । उनले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील, संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो । यस्तै, तीनवटै जिल्लाका सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो ।

प्रतिक्रिया