बेल्जियममा मनाइयो अन्तराष्ट्रिय मजदुर दिवस


काठमाडाैं – १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवस संसारभरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ।

यसै सन्दर्भमा नेपाली जनप्रगतिशील मन्च बेल्जियमको आयोजनामा १३३ औं अन्तराष्ट्रिय मजदुर दिवस शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम गरेर सम्पन्न गरेको छ।

मंचका सल्लाहकार, कार्यसमिती सदस्यहरू उपस्थित रहेको कार्यक्रममा कार्यक्रममा बोल्दै मन्चका अपाध्यक्ष निर्मला बजगाईंले संसारभरी रहेका मजदुरहरूको लागी आजको दिन महत्वपूर्ण रहेको भन्दै मजदुर हक र अधिकारको निम्ती सबै एकजुट हुनुपर्ने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका जनप्रगतिशील मन्च युरोपका संयोजक सुरेन्द्र भुषालले देश विदेशमा रहेका सम्पूर्ण श्रमजिवी वर्गको हक हितका लागी क्रान्तिकारी शक्तिले आवाज उठाउँदै आएको र नेपालमा मजदुरको असली सारथी नेकपा माओवादी केन्द्र रहेको बताए ।

प्रगतिशिल महिला मञ्च यूरोपको इन्चार्ज शुष्मा भुषालले आजको दिन मजदुरहरूको सुखदु:ख साटासाट गर्ने दिन रहेको बताउँदै तल्लो वर्ग र मजदुर वर्गको उत्थानको लागी हामी सबैले राज्यलाई दवाव दिनुपर्नेमा जोड दिइन् ।

मंचका अध्यक्ष प्रकाश पौडेलको अघ्यक्षतामा सम्पन्न कार्यक्रम संचालन महासचिव कल्पना मगरले गरेकी थिइन् ।

वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो। विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको हो। तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो। उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ।

प्रतिक्रिया