

बनेपाका मेयर बादेद्वारा एमाले परित्यागः भन्छन् –गोकुल बाँस्कोटाले धोका दिए

काभ्रे — बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं बादेले स्थानीय तहको निर्वाचनमा आफूलाई टिकट दिने भनी नेताबाट धोका भएको भन्दै पदबाट शनिबार राजिनामा दिएका छन् ।
स्थानीय तहको टिकट वितरणमा असन्तुष्ट रहेका बादेले पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेका हुन् ।
एमालेको साधारण सदस्यबाट समेत राजिनामा दिने घोषणा गरेका बादेले तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको बताए ।
‘नगर प्रमुखमा मलाई नै टिकट दिने भनेर आश्वासन दिइयो तर अन्तिमा टिकट नदिएर धोका दिने काम भयो’, मेयर बादेले भने, ‘त्यस्तो धोका दिने पार्टीमा बसिरहन मन लागेन, त्यसैले एमालेको साधारण सदस्यबाट पनि राजिनामा दिने घोषणा गर्दछु ।’
एमालेबाटै नगर प्रमुख जितेको कारण त्यही पदमा बसिरहन आफूलाई नैतिकताले नदिएको भन्दै बादेले कार्यालय खुलेपछि नगर प्रमुख पदबाट पनि राजीनामा दिने बताए ।
आफूलाई एमाले काभ्रेका इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले अन्तिम समयमा धोका दिएको उनले दाबी गरे । पूर्वसंचार मन्त्री समेत रहेका बाँस्कोटाले पहिले आफूलाई नै उम्मेदवार बनाउने भने पनि पछि आफ्नो फोन पनि नउठाउने र भेट्नै पनि नखोजे पछि मलाई आश्वासन दिएर धोका दिएको थाहा भएको बताए ।
बनेपावको मेयरका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएको थियो । एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई मेयर र उपमेयरमा अखिल नेपाल महिला संघ काभ्रेकी अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ ।
बनेपामा एमालेबाट मेयरको टिकट पाउने रञ्जितले पनि आफूलाई धोका दिएको बादेले आरोप लगाए । बादेले १८ वर्षसँगै काम गरेका मान्छेलाई धोका दिने रििञ्जतले नगरवासीका लागि काम गर्न नसक्ने दाबी गरे ।
नेपाल प्रहरीको एसएसपीबाट सेवा निबृत्त भएका बादे राप्रपाबाट एमाले प्रवेश गरेका थिए । एमाले बनेपा नगर कमिटीका पूर्वअध्यक्ष रहेका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।

