विश्वकै सबैभन्दा जेष्ठ महिलाको ११९ वर्षको उमेरमा मृत्यु


टोकियो – विश्वकै सबैभन्दा बढी उमेरकी महिलाका रुपमा आधिकारिकता प्राप्त गरेकी जापानकी केन टनाकाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ ।

टनाकाको जन्म जनवरी २, १९०३ मा जापानको फुकुओकामा भएको थियो । उनी जन्मिएकै साल राइट दाजुभाइले पहिलोपटक विमान उडाएका थिए भने म्यारी क्युरी नोबल पुरस्कार पाउने पहिलो महिला बनेकी थिइन् ।

टनाका तुलनात्मक रुपमा राम्रै स्वास्थ्य अवस्थामा थिइन् । नर्सिङ होममा बसिरहेकी उनी विभिन्न खेल खेल्नेदेखि गणितका हिसाबहरु समेत हल गर्थिन् भने सोडा र चकलेट खान मन पराउँथिन् ।

युवा अवस्थामा उनी खानेकुरा व्यवसायी थिइन् । उनले एक शताब्दी अगाडि १९२२ मा हिडेओ टनाकासँग विवाह गरेकी थिइन् । उनीहरुका चार छोराछोरी थिए भने पाचौँ चाहिँ पछि एडप्ट गरिएको थियो ।

२०२१ को टोकियो ओलम्पिक्समा उनले ह्वीलचियरको सहायतामा टर्च रिले समारोहमा सहभागीता जनाएकी थिइन् ।

२०१९ मा गिनिज विश्व रेकर्डले उनलाई दुनियाँकै सबैभन्दा जेष्ठ जिवित मानिसका रुपमा आधिकारिकता दिलाएपछि संचारकर्मीहरुले उनलाई आफ्नो जीवनकै सबैभन्दा खुसीको क्षणबारे बताउन भनेका थिए । यसको जवाफमा उनले, “अहिले । म वर्तमानमा सबैभन्दा धेरै खुसी छु ” भनेकी थिइन् ।

उनी हरेक दिन बिहान ६ बजे उठ्ने गर्थिन् र दिउँसोको समय गणित पढेर अनि क्यालिग्राफीको अभ्यास गरेर बिताउने गर्दथिन् ।
अहिलेसम्मकै सबैभन्दा लामो समय जिवित रहनेमा चाहिँ फ्रान्सेली महिला जिन लुइस केलमेन्ट पर्दछिन् । उनको १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रतिक्रिया