स्थानीय तह निर्वाचनमा मतदाता आकर्षित गर्न साडी बाँड्दै वडाध्यक्ष


काठमाडौं  –  काठमाडौं चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न साडी बाँड्ने कार्यक्रम राखेका छन् ।  वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरिद गरेर वितरणको कार्यक्रम राखेका हुन् ।

शुक्रबार जारी सूचना अनुसार शनिबार दिउँसो साडी बाँड्ने कार्यक्रम तय गरिएको हो। वडाध्यक्ष खड्काले वडाका महिलालाई वितरणका लागि दुई सय थान साडी पनि खरिद गरिसकेका छन्। उनले वडा सदस्य सविना राउतमार्फत् साडी खरिद गरेको वडा कार्यालय स्रोतले जानकारी दिएको छ।

स्थानीय तहको निर्वाचनका सन्दर्भमा आचारसंहिता सुरु भइसकेपछि मतदाता लक्षित यस खालका कार्यक्रम गर्न पाइँदैन। तर, सो वडाले भने सूचना नै जारी गरेर साडी बुझ्न आह्वान गरेको हो।

‘यस चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरुले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकाले वडा कार्यालयमा आई साडी बुझिदिनुहुन अनुरोध छ’ सूचनामा भनिएको छ।

वडाध्यक्ष खड्का नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।  एमालेबाटै निर्वाचित अर्का वडा सदस्यले पनि निर्वाचनको मुखमा मतदाता आफूतिर तान्न वडाध्यक्षले साडी बाँड्न लागेको बताए।

प्रतिक्रिया