वाणिज्य बैंकहरुले कमाए ५१ अर्ब नाफा, कुनको मुनाफा कति ?


काठमाडौं – चालु आर्थिक वर्षको ९ महिना (चैत) सम्म आइपुग्दा वाणिज्य बैंकहरुले ५१ अर्ब १ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको यसैअवधिमाभन्दा ०.५४% ले बढी हो ।

अघिल्लो वर्ष वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड २५ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । संचालनमा रहेका २७ बैंकहरुले  सुरुवातदेखि नै तरलताको अभाव खेपेकाले बैंकहरुको नाफामा सामान्य मात्रै वृद्धि भएको हो । चैतसम्ममा ३ वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँको सिलिङ नाघेको छ ।

यस्तै, ११ वटा वाणिज्य बैंक औसतभन्दा धेरै नाफा कमाउन सफल छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म सर्वाधिक नाफा आर्जन गर्न ग्लोबल आएमई बैंक सफल भएको छ । बैंकले ३ अर्ब ७२ करोड नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । सर्वाधिक खुद नाफा कमाएको ग्लोबल आएमई बैंकको नाफा पोहोरभन्दा ४.१३ प्रतिशतले मात्र धेरै हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै, दोस्रो सर्वाधिक नाफा कमाएको एनआइसी एसिया बैंक हो । एनआइसी एसियाले चैत अन्त्यसम्म ३ अर्ब ६० करोड रुपैययाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा २० प्रतिशतको सुधार देखिन्छ । पोहोर चैतमा बैंकले ३ अर्ब रुपैयाँ अधिक नाफा गरेको विवरणमा उल्लेख छ ।

नबिल बैंक भने नाफामा तेस्रो नम्बरमा झरेको छ । बैंकले तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमायो। यद्यपि बैंकको नाफामा ९ प्रतिशतको गिरावट देखिन्छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाउन सफल थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंकलगायत १२ बैंकको घटेको हो। लक्ष्मी बैंकको नाफा पोहोर चैतको तुलनामा ३३.३१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको चैतको तुलनामा ३२ प्रतिशत अधिक नाफा घटाउने नेपाल बंगलादेश बैंक पनि रह्यो। यस्तै, बैंक अफ काठमाण्डूले प्रकाशित गरेको तेस्रो त्रैमासको तथ्यांक अनुसार बैंकको नाफामा पनि साढे २५ प्रतिशतको संकुचन देखिन्छ ।

उल्लेखित यी चार वाणिज्य बैंक बाहेक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट, प्रभु, सानिमा, कृषि विकास, प्राइम कमर्सियल, नेपाल बैंक र कुमारी बैंक पनि हुन् । यी मध्ये सबैभन्दा कम नाफा घटेको कुमारी बैंक हो । बैंकको खुद नाफा पोहोरको तुलनामा सामान्य ०.३२ प्रतिशत घटेको छ ।

सरकारी स्वामित्वका सबै बैंकको नाफा घटेको छ । समिक्षा अवधिमा नाफामा उल्लेख सुधार गर्न सफल भने सेञ्चुरी कमर्सियल बैंक रह्यो। बैंकको खुद नाफामा १८३.५९ प्रतिशतको उछाल आएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३५ करोड ८१ लाख रुपैयाँमा सीमित बैंकको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा एक अर्ब रुपैयाँ अधिक छ ।

सेञ्चुरी कमर्सियलले नाफामा सिभिल, बैंक अफ काठमाडौं र लक्ष्मी बैंक गरी तीन वटा वाणिज्य बैंकहरुलाई उछिनेको छ । यी तीन वटाको नाफा भने एक अर्ब रुपैयाँभन्दा कम रहेको छ ।

प्रतिक्रिया