

गठबन्धन बैठक : पूर्णबहादुर खड्का र उपेन्द्र यादव दुवैले नेपालगञ्ज नछोड्ने अडान लिएपछि भएन सहमति

काठमाडौँ – आसन्न निर्वाचनमा उपमहानगरपालिकामा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक आज बिहान बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
गठबन्धनले ६ महानगरपालिकामा सिटबाँडफाँट करिब–करिब टुंग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ । मंगलबार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो ।
११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगञ्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेको छैन । यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगञ्जमा नेपाली कांग्रेसलाई मेयरको सिट दिने विषयमा छलफल भएको थियो । तर, जसपाले नेपालगञ्जमा पनि दाबी गरेपछि कांग्रेसले जनकपुरमा समेत दाबा ठोकेको हो ।
११ उपमहानगरमा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक–एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खोजेको हो ।
६ महानगरमध्ये कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक मेयर पाउने गरी सहमति जुटिसकेको बताइएको छ ।

