रौतहटमा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु


काठमाडौँ- रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। देवाहीगोनाही नगरपालिका–४ इमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हो।

बीआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बीआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका–४ का २२ वर्षीय कमोद यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए।

दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई  उपचारका लागि अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए।

दुर्घटनामा भारतको बिहारका विकास यादव घाइते भएका छन्।  सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। यादव मोटरसाइकलमा सवार थिए। उनी सवार मोटरसाइकलका चालक फरार छन्।

प्रतिक्रिया